९ माघ,ठोरी ।शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका साविक सुवर्णपुरका गाउँ पन्चायत अध्यक्ष स्वर्गीय पुस्त बहादुर थिङ्को स्मृतिमा निर्माण गरिएको प्रतिमाको अनावरण कार्यक्रम सम्पन्न भएको छ। ज्ञानवाटिका माध्यमिक विद्यालय (मावि) परिसरमा निर्माण गरिएको उक्त प्रतिमा शुक्रबार सरस्वती पूजाको अवसरमा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले अनावरण गर्नुभएको थियो।
प्रतिमा अनावरण कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले स्व. थिङ्को योगदान केवल विद्यालय स्थापना मात्र नभई समग्र समाजको शैक्षिक चेतना अभिवृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँले आजका विद्यार्थी र शिक्षकहरूले इतिहासलाई बिर्सनु नहुने बताउँदै इतिहासको सम्मानले मात्र शिक्षित र सभ्य समाजको विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले स्व. थिङ्को सोच, त्याग र दूरदृष्टि आज पनि प्रेरणाको स्रोत भएको बताउनुभयो। साथै, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमान माली र पूर्व प्रधानाध्यापक जगदीश गौरोले उहाँको योगदानलाई स्मरण गराउने प्रतिमा भावी पुस्ताका लागि मार्गदर्शक बन्ने आशा व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. थिङ्को धर्मपत्नी तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मन कुमारी तामाङ र पूर्व प्रधानाध्यापक गौरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। अध्यक्ष नेवारले प्रतिमा केवल ढुङ्गाको संरचना नभई त्याग, समर्पण र प्रेरणाको जीवित प्रतीक भएको उल्लेख गर्दै स्व. थिङ्को स्थापना गरेको शैक्षिक यात्रालाई निरन्तरता दिन विद्यालय परिवार प्रतिबद्ध रहेको बताउनुभयो।
उक्त कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय बुद्धिजीवी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
ज्ञानवाटिका माध्यमिक विद्यालय स्व. थिङ्को अग्रसरतामा २०२२ सालमा प्रावि प्रेमवस्तीको नाममा स्थापना भएको थियो। हाल ठोरी र जीराभवानी गाउँपालिकाका करीब ४ सयभन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन्। विद्यालयले कक्षा १२ सम्म अध्ययनको व्यवस्था गरेको छ र गत वर्षको एसईई नतिजामा ठोरीमा पहिलो स्थान प्राप्त गरेको थियो। २०३६ मा निमावि, २०४६ मा मावि हुँदै २०७६ मा उच्च मावि सञ्चालनमा आएको थियो।
स्व. थिङ्को विद्यालय स्थापना र शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै ठोरी–५ को वडा कार्यालयले प्रतिमा निर्माणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
















