९ माघ, काठमाडौं । रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिकामा भएको भीषण सडक दुर्घटनामा परी दुई जना युवकले ज्यान गुमाएका छन् ।
राजदेवी नगरपालिकाको पथरामा तीव्र गतिमा गुडिरहेका दुईवटा मोटरसाइकल एकापसमा भयानक ढंगले ठोक्किँदा सो दुखद घटना घटेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरूमा दुर्गाभगवती गाउँपालिकाका अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नेपाल र भारत दुवै देशका नम्बर प्लेट भएका मोटरसाइकलहरू अनियन्त्रित भई आपसमा जुध्न पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णुप्रदीप बस्यालले दिएको जानकारी अनुसार, दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा प्र०२–०३–०१८प २३४६ नम्बरको नेपाली मोटरसाइकल र बीआर ३० ए एफ २३७० नम्बरको भारतीय मोटरसाइकल क्षतिग्रस्त भएका छन् । सडकमा तीव्र गतिकै कारण यो क्षति भएको प्रारम्भिक अनुमान गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
















