९ माघ, काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारीलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
पार्टीले आधिकारिक रूपमा राजन दाहाललाई चुनावी मैदानमा उतारे पनि उनीविरुद्ध महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि शीर्ष नेतृत्व चिन्तित बनेको हो । यसै सन्दर्भमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई तत्काल सक्रिय भूमिका खेल्दै बागी उम्मेदवारी फिर्ता गराउन कडा निर्देशन दिनुभएको छ ।
खासगरी, महेश्वर दाहालको उम्मेदवारीमा नेता गजुरेल स्वयं प्रस्तावक बसेपछि पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको ठहर गर्दै नेतृत्वले यस्तो दबाब दिएको हो । गजुरेलको प्रत्यक्ष साथ र समर्थनमा बागी उम्मेदवारी परेपछि सिन्धुलीमा आधिकारिक उम्मेदवारलाई संकट पर्न सक्ने आँकलन गर्दै प्रचण्ड र माधव नेपालले आधिकारिक उम्मेदवार राजन दाहाललाई जिताउन एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । उम्मेदवारी फिर्ता लिने समय सीमा घर्किनै लाग्दा केन्द्रबाट आएको यो निर्देशनले सिन्धुलीको राजनीतिमा नयाँ हलचल पैदा गरेको छ ।
















