९ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीकरणमा फेरबदल आएको छ। प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका राजेश्वर साहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
पर्सा–२ को निर्वाचन कार्यालयका अनुसार साहले उम्मेदवारी फिर्ता लिने तोकिएको समयसीमाभित्र निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यले उम्मेदवारी फिर्तासम्बन्धी कानुनी प्रक्रिया पूरा भइसकेको पुष्टि गरेका छन्।
निर्वाचन कार्यालयले अब सबै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। साथै, आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उम्मेदवारी फिर्ता लिएपछि राजेश्वर साहले आफू नेपाली कांग्रेस समर्थक भएको खुलासा गर्दै आन्तरिक समन्वयको अभावमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। अब भने कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने उनले घोषणा गरेका छन्।
राजेश्वर साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा नेपाली कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। आगामी निर्वाचनमा यसको प्रभाव निर्णायक हुनसक्ने अनुमान गरिएको छ।
















