Logo

१० माघ, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र देशलाई माया गर्ने सम्पूर्ण देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन् । शनिबार नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीलाई सामूहिक रूपमा आफ्नो पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच एमाले ओखलढुङ्गाका अध्यक्ष ज्ञानबहादुर खड्काको नेतृत्वमा उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवालसहित ३८ जना पदाधिकारी तथा नेता कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा जिल्ला कमिटीको सिफारिसलाई पार्टी नेतृत्वले अवज्ञा गरेको भन्दै रुष्ट बनेका उनीहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक दाहालले मुलुकमा विद्यमान राजनीतिक सङ्कट समाधान गर्न आफ्नो पार्टी सक्षम रहेको दाबी गरे । “जनतालाई हाम्रो पार्टी नै देशलाई माया गर्ने शक्ति हो भन्ने बुझाउन सकेमा आगामी निर्वाचनमा हामी पुनः एक नम्बरको पार्टीका रूपमा स्थापित हुनेछौँ,” उनले भने ।

सोही अवसरमा पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधार भएको दाबी गरे। उनले पार्टीले अङ्गीकार गरेको समाजवादी विचारलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए । ओखलढुङ्गाको सिङ्गो जिल्ला नेतृत्व नै पार्टीमा समाहित भएपछि आगामी निर्वाचनमा सो जिल्लाको चुनावी समीकरणमा ठुलो हेरफेर हुने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन् ।


सम्बन्धित समाचार