१० माघ, काठमाडौँ । करिब चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अन्त्यका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा निर्णायक त्रिपक्षीय वार्ता सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनामाथि केन्द्रित रहेर रूस, युक्रेन र अमेरिकाका उच्च प्रतिनिधिहरू शुक्रबारदेखि औपचारिक छलफलमा जुटेका हुन् ।
यूएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार यो वार्ता दुई दिनसम्म जारी रहनेछ। युद्ध सुरु भएयता मस्को र किएभबीच अमेरिकी मध्यस्थतामा भएको यो नै पहिलो प्रत्यक्ष र सार्वजनिक वार्ता हो ।
डाभोसको भोलिपल्टै अबु धाबीमा वार्ता यसअघि स्वीट्जरल्यान्डको डाभोसमा अमेरिकी राजदूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राति अबेरसम्म गोप्य वार्ता गरेका थिए। सोही भेटवार्ताको भोलिपल्ट तीनै देशका उच्चस्तरीय टोलीहरू अबु धाबीमा भेला हुनुलाई विश्व राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको विशेष प्रतिनिधिका रूपमा राजदूत विटकोफले यो वार्ताको नेतृत्व गरिरहेका छन् ।
डोनबासमा अडिएका आ–आफ्नै अडान वार्ताको मुख्य केन्द्रविन्दु पूर्वी युक्रेनको डोनबास क्षेत्र रहेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र नै वार्ताको मुख्य मुद्दा रहेको र त्यहाँको भौगोलिक अखण्डता आफ्नो प्राथमिकतामा रहने बताएका छन् । यता, रूसले भने डोनबास क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहनुपर्ने र किएभले सो क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने अडानबाट पछि नहट्ने सङ्केत दिएको छ ।
युद्धका कारण विश्व अर्थतन्त्र र सुरक्षामा गम्भीर असर परिरहेका बेला सुरु भएको यस वार्ताले ‘युद्धविराम’ को कुनै ठोस खाका तयार गर्नेछ वा छैन भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ। दुई दिने यस वार्तालाई ट्रम्प प्रशासनको पहिलो ठुलो वैदेशिक कूटनीतिक सफलताका रूपमा समेत हेरिन थालिएको छ।
















