Logo

१० माघ, काठमाडौँ । रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्डमा सवारी आवागमन ठप्प भएको हो।

लोकमार्ग अवरुद्ध भएपछि सडक खुलाउन इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो।

प्रहरीका अनुसार हाल पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। हिउँ पन्छाउने र सडक सञ्चालनमा ल्याउने कार्यका लागि भूमे गाउँपालिकासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो।

रुकुम पूर्वसहित रुकुम पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ भने कतिपय स्थानमा हल्का वर्षा पनि भएको छ। लामो समयपछि परेको वर्षा र हिमपातले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीहरूले बताएका छन्।

सिस्ने गाउँपालिका–५ का विमल बिसीका अनुसार लामो समयको अन्तरालपछि भएको वर्षा र हिमपातले किसानलाई राहत पुगेको छ। यद्यपि, अत्यधिक हिमपातका कारण यातायात तथा दैनिक जनजीवन प्रभावित भएको छ।


सम्बन्धित समाचार