Logo

१० माघ, काठमाडौँ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सम्झनामा शहीद सप्ताह सुरु भएको छ। हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्दै शहीद सप्ताह मनाउने परम्परा रहेको छ।

शहीद सप्ताहको पहिलो दिन आज १९९७ साल माघ १० गते शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान काठमाडौँको टेकुमा रहेको उहाँको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डङ्गोलले शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट पाठ सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले शहीदहरूको बलिदानले प्राप्त उपलब्धिलाई संरक्षण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई मजबुत बनाउन सबैको दायित्व रहेको उल्लेख गर्नुभयो।

शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते पचलीमा राणा शासनविरुद्ध जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र शिक्षित गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो। सोही दिनको स्मृतिमा हरेक वर्ष माघ १० गतेदेखि शहीद सप्ताह मनाउन थालिएको हो।

त्यस्तै, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते, तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। विशेष गरी शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा माघ १६ गते शहीद दिवस मनाइन्छ।

१९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रका पक्षमा एकजुट र सचेत गराएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो। शहीदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक चेतनाको विकास भएको इतिहासकारहरू बताउँछन्।


सम्बन्धित समाचार