१० माघ, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) नजिकिँदै गर्दा पर्सा–२ क्षेत्रको चुनावी सरगर्मी अत्याधिक बढेको छ । यो क्षेत्रका मतदाताहरूले पारदर्शिता, जवाफदेही र नयाँ शैलीको नेतृत्व खोज्दै आएका कारण पुराना दलका अनुभवी नेताहरूका लागि यो निर्वाचन चुनौतीपूर्ण बनेको छ । यसैबीच युवा उम्मेदवारहरूले मतदाताको आकर्षण पाउँदै गर्दा चुनावी तालमेल र रणनीतिमा ठूलो परिवर्तन देखिएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले २८ हजार ४५१ मत प्राप्त गरी जित निकालेका थिए भने जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मी २२ हजार ४४५ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । त्यसपछि यस क्षेत्रको राजनीतिक परिवेशमा गठबन्धन, दलगत शक्ति र युवा नेतृत्वको प्रभाव क्रमशः बढ्दै गएको छ ।
यसपटक पनि कांग्रेसले चौरसियालाई पुनः टिकट दिएको छ । तर मतदाताको अपेक्षा परिवर्तन भएको छ । युवा, विद्यार्थी, पेशाकर्मी र स्वतन्त्र विचारधाराका मतदाताहरूले पुरानो राजनीतिक संस्कृति र बिपरीत नयाँ, जवाफदेही र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन् । यस्तो धारणा राख्ने मतदाताहरूले नयाँ उम्मेदवारहरूमा आशा देखाउँदै उनीहरूको पक्षमा झुक्ने संकेत दिइरहेका छन् ।
यसैबीच पर्सा–२ मा अहिलेको मुख्य प्रतिस्पर्धा युवा उम्मेदवार र अनुभवी नेताबीच केन्द्रित भएको छ । यहाँका विभिन्न दलहरूले नयाँ शैलीका युवा नेताहरूलाई अघि सारेका छन् भने पुराना दलले पनि आफ्ना अनुभवी नेताहरूलाई उम्मेदवार बनाउँदै आफ्नो स्थिरतामा जोड दिएका छन् ।
यसपटक को–को छन् उम्मेदवार ?
१) रास्वपा : सुशील साह कानु (३६ वर्ष)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–२ मा ३६ वर्षीय सुशील साह कानुलाई उम्मेदवार बनाएको छ । कानु २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष निर्वाचित थिए । अहिले उनले वडाध्यक्ष पदबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएका छन् ।
उनको राजनीतिक यात्रा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट सुरु भएको थियो र त्यसपछि उपेन्द्र यादव नेतृत्वकै पार्टीमा सक्रिय रूपमा काम गरेका थिए । तर अहिले उनी रास्वपामा प्रवेश गरी नयाँ राजनीतिक पहिचान बनाउने प्रयासमा छन् । युवा र मधेशवादी मतदाताबीच उनी लोकप्रिय बन्ने सम्भावना रहेको विश्लेषकहरूले बताउँछन् ।
२) एमाले : रिमा यादव (२९ वर्ष)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यस क्षेत्रमा २९ वर्षीय रिमा यादवलाई उम्मेदवार बनाएको छ । उनी देशभरकै कान्छी उम्मेदवारमध्येकी एक हुन् । रिमाको व्यक्तिगत राजनीतिक पृष्ठभूमि लामो नभए पनि उनको पारिवारिक पृष्ठभूमि र स्थानीय सञ्जालका कारण एमालेले उनलाई टिकट दिएको स्थानीयहरूको बुझाइ छ ।
रिमा यादव स्नातक तहसम्म अध्ययन गरेकी छन् । उनका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता हुन् । एमालेका मधेश प्रदेश उपाध्यक्ष विचारीप्रसाद यादवका अनुसार अहिर २०५६ देखि एमालेका सक्रिय नेता हुन् र त्यसकै कारण रिमाले टिकट पाएको बताइएको छ ।
यही क्षेत्रबाट एमालेले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विचारीप्रसाद यादवलाई उम्मेदवार बनाएको थियो । त्यो समय उनी कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने एमालेबाटै यादव निर्वाचित भएका थिए ।
तर त्यसपछि एमालेले यो क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिएको यो पहिलो पटक हो । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले जसपासँग गठबन्धन गरेर सिट छाडेको थियो । २०७४ मा जसपाका विमलप्रसाद श्रीवास्तवले जिते पनि २०७९ मा कांग्रेसका चौरसियाले विजय हासिल गरेका थिए ।
३) राप्रपा : बीना जैसवाल कुर्मी (४० वर्ष)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस क्षेत्रमा ४० वर्षमुनिका युवा उम्मेदवार बीना जैसवाल कुर्मीलाई अघि सारेको छ । उनी विघटित प्रतिनिधिसभामा राप्रपाबाट समानुपातिक सांसद रहिसकेकी थिइन् । यसपटक उनी प्रत्यक्ष निर्वाचनमा मैदानमा उत्रिएकी छन् । उनको राजनीतिक अनुभव र जनसम्पर्कले उनलाई मतदातामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
४) जसपा : अशोक टेमानी (४५ वर्ष)
जनता समाजवादी पार्टी (जसपा) ले यसपटक ४५ वर्षीय अशोक टेमानीलाई उम्मेदवार बनाएको छ । टेमानी नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष पनि हुन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उद्योग वाणिज्य क्षेत्रमा उनको नेटवर्क र व्यवसायिक सम्बन्धले मतदाताको एक समूहमा प्रभाव पार्न सक्ने सम्भावना छ । तर राजनीतिक रुपमा नयाँ हुनुका कारण चुनौती पनि कम छैन ।
५) कांग्रेस : अजय चौरसिया (हेभीवेट उम्मेदवार)
यस क्षेत्रका सबैभन्दा ‘हेभिवेट’ उम्मेदवार कांग्रेसका अजय चौरसिया नै हुन् । उनी विद्यार्थी राजनीतिदेखि सक्रिय छन् र ०५१ सालदेखि पर्सा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।
२०५६ को प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक चुनाव लडेका चौरसिया निर्वाचित भए र २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायक मन्त्री बनेका थिए । पछिल्लो पटक उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन मन्त्री पनि बनेका थिए ।
उनको अनुभव, राजनीतिक सञ्जाल र संसदीय कामकाजले उनलाई यो क्षेत्रमा बलियो उम्मेदवार बनाएको छ ।
चुनावी माहोल : युवा नेतृत्वको चर्चा बढी, तर पुराना नेताको असर पनि कायम
पर्सा–२ क्षेत्रमा अहिले मतदातामाझ ‘नयाँ’ र ‘युवा’ उम्मेदवारको चर्चा बढी छ । युवाहरू, विद्यार्थी र स्वतन्त्र विचारधारी मतदाताले पुराना राजनीतिक शैलीभन्दा फरक नेतृत्वको अपेक्षा राखिरहेका छन् ।
यद्यपि, पुराना नेताहरूको संगठनात्मक शक्ति, संसदीय अनुभव र स्थानीय क्षेत्रमा निर्माण गरेको राजनीतिक आधार अझै प्रभावकारी छ । त्यसैले यो निर्वाचनमा मतदाताको निर्णय धेरै हदसम्म अन्तिम समयसम्म परिवर्तन हुन सक्ने सम्भावना छ ।
विश्लेषकहरूका अनुसार यो निर्वाचनले मधेशको राजनीतिक परिदृश्यमा नयाँ गतिशीलता ल्याउन सक्छ । यदि युवा उम्मेदवारहरूले अपेक्षा अनुसार जनसमर्थन पाए भने पुराना दलहरूको नेतृत्वमा परिवर्तनको संकेत देखिन सक्छ ।
अन्ततः पर्सा–२ को मतदाताले फागुन २१ मा गर्ने मतदानले मात्रै यस क्षेत्रको राजनीतिक भविष्यको दिशा तय गर्नेछ । चुनावी प्रतिस्पर्धा कडा र प्रतिस्पर्धी धेरै भएकाले नतिजा नजिकबाटै प्रतिक्षा गर्नुपर्ने अवस्थामा पुगेको छ ।
















