१० माघ,वीरगञ्ज । प्रेस सेन्टर पर्साको बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न निर्णय गर्दै प्रेस सेन्टरले आफ्नो स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगंजमा प्रभात फेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधि सभाका उम्मेदवारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले जानकारी दिएका छन् ।
प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति–नियम र आगामी कार्यक्रमबारे स्पष्ट जानकारी दिएका थिए । साथै बैठकमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दिपक गौतम, जगत राई लगायत प्रेस सेन्टरका सदस्यहरू उपस्थित थिए । बैठकको सञ्चालन सचिव अजित भुजेलले गरेका थिए ।
प्रेस सेन्टर पर्साले आगामी कार्यक्रममार्फत पत्रकार समाज र निर्वाचन क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ ।
















