Logo

१० माघ,वीरगञ्ज । वीरगञ्ज–९ घण्टाघर छेउको बीपी उद्यान नजिकै रहेको खाली जग्गामा वीरगञ्ज महानगरपालिकाले रेल्वे म्युजियम निर्माणका लागि तयारी सुरु गरेको छ। यसका लागि शनिबार उक्त स्थानमा रेल्वेका पुराना संरचना र आसपासका झाडी, रुख फाँडेर सरसफाइ गरिएको छ।

गत असार ९ गते वीरगञ्ज महानगरपालिकाको १३औँ नगरसभामा मेयर राजेशमान सिंहले चालू आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा घोषणा गर्दै वीरगञ्जलाई नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भन्दै रेल्वे सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरू संरक्षण र पुनःप्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माण गर्ने घोषणा गरेका थिए।

त्यही घोषणालाई कार्यान्वयन गर्दै महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा रेल्वे म्युजियम निर्माणको तयारी थालेको हो। उक्त स्थानलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले शनिबार सरसफाइ अभियान चलाइएको थियो।

सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्र, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रममा मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायतका प्रमुख अधिकारीहरू सहभागी थिए।

रेल्वे म्युजियम निर्माणको तयारी सुरु भएको यस कदमलाई ऐतिहासिक र सांस्कृतिक संरक्षणको दिशा मा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। आगामी दिनमा संरचनागत योजना र निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार