Logo

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार )सर्लाही जाने भएका छन्।

सभापति थापा आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको सर्लाही–४ क्षेत्र पुग्ने तयारीमा छन्। उनले सर्लाही–४ मा रहेका युवासँग शनिबार नयाँ बानेश्वरमा आयोजित अन्तरक्रियामा आफ्नो आगामी भ्रमणको जानकारी दिएका छन्।

थापाले भने, “भोलि म सर्लाही जाँदैछु। पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा। तर, पोलिटिकल कार्यक्रममा गएको छु। यो पटक म उम्मेदवार बनेर जाँदै छु। मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट ९उत्साह० छ।”

सर्लाही–४ का युवाको भरपर्दो समर्थनमा आफूले जीवनकै ठूलो राजनीतिक निर्णय लिएर यस क्षेत्रमा आएको उनले बताए। उनले युवाहरूसँग भने, “म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर।”

अन्तरक्रियामा सहभागी युवाहरूसँग उनले निर्वाचनका बेला सर्लाही गइदिन र घरपरिवारमा पनि मतदानका लागि आग्रह गर्न अनुरोध गरे। उनले भने, “तपाईंहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनपर्छ। तपाईंको घर आइदिनपर्छ। अभिभावकलाई भनिदिनुपर्छ। हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ। म तपाईंहरूको भरोसा मानेर आएको छु।”

स्रोतका अनुसार, कांग्रेसले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्दै निर्वाचनमा जाने निर्णय गरेको थियो। उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो।


सम्बन्धित समाचार