Logo

१० माघ,काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य समेत रहेका अग्रवाललाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

कार्यक्रममा ओलीले अग्रवाललाई खादा र टिका लगाएर एमालेमा प्रवेश गराएका थिए। अग्रवालको एमाले प्रवेशलाई पार्टीको केन्द्रीय नेताहरूले पनि स्वागत गरेका थिए।

सेयर बजारमा आरोप र सीआईबीको कारबाही

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। सीआईबीले उनलाई सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने, र मूल्य प्रभावित गर्ने आरोपमा पक्राउ गरेको थियो।

नेपाल धितोपत्र बोर्डले पनि अग्रवालविरुद्ध अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको थियो। करिब १० दिन हिरासतमा राखेर अनुसन्धानपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो।

सामाजिक सञ्जालमा भ्रामक प्रचार–प्रसार, लगानीकर्तालाई आकर्षित गर्ने

अग्रवालले सस्तोमा सेयर खरिद गरी मूल्य बढाउने गलत प्रचार गर्दै आएका थिए। उनले आफूले सेयर खरिद गरेपछि सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न प्रेरित गर्ने र मूल्य तोकेर “यति पुर्‍याउने” भन्दै झुटा आश्वासन दिने गरेको आरोप छ।

लगानीकर्ताले खरिद सुरु गरेपछि अग्रवालले आफैं आफ्नो सेयर बेच्ने गर्दथे। यस विषयमा धितोपत्र बोर्डमा उजुरी परेपछि बोर्डले अध्ययन गरेको थियो र झुटा कारोबार गर्ने निष्कर्ष निकालेको थियो।

अग्रवालले अन्य व्यक्तिका कारोबार खाताहरू पनि आफैं चलाउने, धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसा नदिने, र धितोपत्र बोर्डमा उजुरी पर्ने खालका कामहरू गरेको बताइएको छ। साथै, एक कारोबार खाताबाट पैसा अर्को व्यक्तिको खातामा ट्रान्सफर गरेको विषयमा पनि उजुरी परेको थियो।


सम्बन्धित समाचार