Logo

 १० मांघ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्।

शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले पछिल्लो समय राजनीतिक वृत्तमा चलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट जनताको ध्यान हटाउने प्रयास मात्र भएको बताए। उनका अनुसार नेपालमा समस्या दलको नभई जनताले चाहेको जनसेवामुखी राज्यसत्ताको अभाव हो।

उनले जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिन सक्ने सत्ता आजको मुख्य आवश्यकता भएको उल्लेख गरे। सत्ताको मूल बहस ओझेलमा पारेर बाहिरबाट नयाँ र पुराना दलको हल्लाखल्ला फैलाइएको भन्दै उनले त्यसलाई असत्य दाबी गरे।

महासचिव चन्दले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको कुरा सही भए पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा गलत भएको बताए। नयाँ दलप्रति जनतामा देखिएको आशा पुराना दलको असफलताबाट जन्मिएको भए पनि पुरानो राज्यसत्ता यथावत् रहेसम्म नयाँ दल आएर मात्र समस्या समाधान नहुने उनको भनाइ थियो।

उनले राजनीतिक संघर्षको मूल विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताको बीचको संघर्ष भएको स्पष्ट पारे। साथै, पुरानो सत्ता संरचना र चरित्र बदल्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता रहेको बताउँदै हाल नयाँ भनिएका कुनै पनि शक्तिबाट त्यस्तो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गरे।

पुरानो सत्तालाई रूपान्तरण गरी जनताको सत्ता निर्माण गर्न सक्ने शक्ति नेकपा माओवादी मात्रै भएको उल्लेख गर्दै महासचिव चन्दले यस विषयमा जनतालाई स्पष्ट रूपमा बुझाउन पार्टी कार्यकर्तालाई निर्देशन दिए।


सम्बन्धित समाचार