१० मांघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले जेनजी युवाहरूले उठाएको माग पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित राप्रपाको भेला तथा कार्यक्रममा बोल्दै नेता थापाले पछिल्लो २० वर्षदेखि देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको माग गर्दै जेनजी युवाहरूले उठाएको आवाज अझै अधुरो रहेको बताए। उक्त अधुरो चाहना र माग पूरा गर्ने क्षमता र इच्छाशक्ति राप्रपामा मात्रै रहेको उनको भनाइ थियो।
उनले राप्रपालाई भोट किन दिनुपर्छ भन्ने विषयमा स्पष्ट पार्दै यो निर्वाचन मध्यावधि निर्वाचन भएको उल्लेख गरे। थापाले भने, “यो चुनाव गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको आन्दोलनको परिणाम हो। उनीहरूले देशमा २० वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको माग उठाएका थिए। तर त्यो माग अझै पूरा भएको छैन।”
नेता थापाले स्वतन्त्र र स्वाभिमानी नागरिकका रूपमा हेर्दा भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी रहेको आरोप लगाए। कांग्रेस र कम्युनिष्टको गलत नीति र कार्यशैलीका कारण देश संकटमा फसेको भन्दै ती दलहरूले देशलाई भ्रष्टाचारमुक्त बनाउन नसक्ने दाबी गरे।
उनका अनुसार जनताले अहिले भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति खोजिरहेको अवस्थामा राप्रपा नै वैकल्पिक शक्ति बनेर उभिएको छ।
















