११ माघ, काठमाडौँ । राष्ट्रिय सभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ पदमध्ये १७ पदका लागि आज (आइतबार) निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी सबै प्राविधिक तथा सुरक्षा तयारी पूरा गरिएको छ।
कुल १८ रिक्त पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ पदका लागि आज सातै प्रदेशका तोकिएका मतदान केन्द्रहरूमा मतदान हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले मतदानका लागि सातै प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। जसअनुसार कोशी प्रदेशका लागि विराटनगर, मधेसका लागि जनकपुरधाम, बागमतीका लागि हेटौँडा र गण्डकीका लागि पोखरामा मतदान केन्द्र राखिएको छ। त्यस्तै लुम्बिनी प्रदेशको दाङ (घोराही), कर्णालीको सुर्खेत (वीरेन्द्रनगर) र सुदूरपश्चिमको धनगढीमा मतदानको व्यवस्था मिलाइएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने संवैधानिक व्यवस्था छ। मतदाताहरूको मतभार फरकफरक हुने यस निर्वाचनको नतिजा आजै साँझसम्म आउन सक्ने आयोगले जनाएको छ ।
















