११ माघ, सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ भने संक्रमणको आशंका गरिएका थप २२ जनालाई उनीहरूकै घरमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राखिएको छ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले दादुरा तीव्र गतिमा फैलने संक्रामक रोग भएकाले मलङ्गवावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । “हामीले बिरामी फेला परेका क्षेत्रमा निगरानी बढाएका छौँ र संक्रमणलाई समुदाय स्तरमा थप फैलिन नदिन सक्रिय छौँ,” डा. झाले भने।
दादुराको प्रकोपलाई नियन्त्रण गर्न र बालबालिकालाई जोगाउन मलङ्गवा नगरपालिकाले आगामी माघ १२ गतेदेखि १६ गतेसम्म ‘विशेष खोप अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यस अभियानअन्तर्गत नगरपालिकाका वडा नम्बर २, ३, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुराविरुद्धको खोप लगाइनेछ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर अनिवार्य रूपमा खोप लगाउन अभिभावकहरूलाई अनुरोध गरेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार समयमै खोप लगाउनु नै दादुरा जस्तो जोखिमपूर्ण संक्रामक रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।
















