११ माघ, सुर्खेत । राष्ट्रिय सभाका रिक्त पदका लागि आज बिहान ९ बजेदेखि सुरु भएको मतदान अन्तर्गत कर्णाली प्रदेशमा उत्साहजनक सहभागिता देखिएको छ। प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा जारी मतदानको पहिलो एक घण्टा (बिहान १० बजे) सम्ममा कुल मतदाता संख्याको उल्लेख्य हिस्साले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १० बजेसम्म कुल १२३ जना मतदाताले मतदान गरेका छन्। कर्णाली प्रदेश सभाका कुल ४० सदस्यमध्ये पहिलो एक घण्टामै ३० जना (७५ प्रतिशत) ले मत खसालिसकेका छन्। मतदान गर्ने प्रदेश सभा सदस्यहरूमा १० महिला र २० पुरुष रहेका छन् ।
त्यसैगरी, स्थानीय तहतर्फका मतदाताहरूको सहभागिता पनि तीव्र देखिएको छ। हालसम्म ९३ जना स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूले मतदान गरिसकेका छन्। जसमा ५९ पुरुष र ३४ महिला मतदाता रहेका छन्। कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभाका ४० र स्थानीय तहका १५८ गरी कुल १९८ मतदाता रहेका छन्।
दुई पदका लागि प्रतिस्पर्धा कर्णाली प्रदेशबाट यसपटक एक महिला र एक अन्य कलस्टर गरी कुल दुई पदका लागि निर्वाचन भइरहेको छ। निर्वाचनमा मुख्यतया सत्तापक्षीय गठबन्धन (नेपाली कांग्रेस र नेकपा एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा छ।
गठबन्धनका तर्फबाट अन्य कलस्टरमा नेपाली कांग्रेसका ललितजंग शाही र महिला कलस्टरमा नेकपा एमालेकी मिनासिंह रखाल उम्मेदवार हुनुहुन्छ। यता, नेकपाले अन्य कलस्टरमा बुद्धिप्रसाद शर्मा र महिला कलस्टरमा अन्जु महतरा (शाही) लाई चुनावी मैदानमा उतारेको छ। मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहने र त्यसलगत्तै मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
















