११ माघ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई सार्वजनिक बहसका लागि आह्वान गरेपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ। उक्त प्रस्तावप्रति प्रतिक्रिया दिँदै बालेन साहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले ‘देश जलाउने र बनाउनेबीच बहस हुनुपर्ने’ उल्लेख गर्दै पब्लिक डिबेटको प्रस्ताव गरेका थिए। त्यसको जवाफमा बालेन साहले तीव्र शब्द प्रयोग गर्दै ओलीमाथि गम्भीर आरोप लगाएका छन्।
बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” उनले यस्तो बहसमा सहभागी हुनु नै आफूले गलत कर्मलाई वैधता दिएको जस्तो हुने भन्दै डिबेट अस्वीकार गरेको स्पष्ट पारेका छन्।
उनले थप लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। नेताहरूको घर कता कता छन् भन्ने तपाईंहरूलाई थाहा थियो। २३ गते बच्चाहरू मारिएको आतङ्कवाद लुकाउन २४ गते जलाइएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यसपछि अरू कुरा गरौँला।”
ओलीको बहस प्रस्ताव र त्यसमा बालेन साहको कडा तथा आरोपात्मक प्रतिक्रियापछि राजनीतिक क्षेत्र तताएको छ। सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच चर्को बहस चलिरहेको छ भने विभिन्न राजनीतिक विश्लेषकहरूले यस घटनालाई वर्तमान राजनीतिक ध्रुवीकरणको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

















