दाङ, ११ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरी जिसीको शव घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिसी यही माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन भएका थिए। खोजतलासका क्रममा उनको स्कुटी बाटोमा भेटिएपछि थप खोजी गरिएको थियो।
खोजीका क्रममा जिसी जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घटनापछि प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि पठाएको थियो।
स्रोतका अनुसार मृतक जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत छन्। बुबाको अवस्थाका कारण बिदा माग्दा नपाएपछि जिसी मानसिक तनावमा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै मोबाइल फोनको लक खुलेपछि मात्रै घटनाको वास्तविक कारणबारे थप स्पष्ट हुने बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
















