११ माघ, काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम नरोकिँदा आज आइतबार अहिलेसम्मकै नयाँ कीर्तिमान कायम भएको छ ।
साताको कारोबार सुरु हुने पहिलो दिनमै सुनको भाउमा उछाल आएपछि आम उपभोक्ता र व्यवसायीहरू स्तब्ध बनेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले वृद्धि भई प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन नेपाली इतिहासकै उच्च विन्दु हो। गत शुक्रबार सुनको मूल्य ३ लाख १ हजार ४ सय रुपैयाँमा स्थिर रहेको थियो ।
सुनको पछ्याउँदै चाँदीको मूल्यले पनि आज ऐतिहासिक उचाइ छोएको छ । चाँदीको भाउमा एकै दिन तोलामा २ सय ९० रुपैयाँको भारी वृद्धि देखिएको छ, जसका कारण आज बजारमा चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । बहुमूल्य धातुको यसरी अनपेक्षित रूपमा मूल्य आकाशिएपछि विवाह र चाडपर्वका लागि गहना बनाउने तयारीमा रहेका सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।
बजार विश्लेषकहरूका अनुसार सुनचाँदीको यो मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजार र विश्व राजनीतिमा आएको उतारचढाव हो । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, विश्वव्यापी मुद्रास्फीति र विभिन्न देशबीचको बढ्दो भूराजनीतिक तनावका कारण लगानीकर्ताहरूले सुरक्षित लगानीका रूपमा सुन र चाँदीमा जोड दिन थालेका छन् । मागको चाप र अन्तर्राष्ट्रिय बजारमा डलरको स्थितिमा आउने परिवर्तनले पनि नेपाली बजारमा सुनचाँदीको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै गएको देखिन्छ ।
















