Logo

जनकपुरधाम । राष्ट्रिय सभा सदस्य चयनका लागि मधेश प्रदेशमा जारी मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

जनकपुरधाममा बिहान ९ बजेबाट सुरु भएको मतदानमा दुई घण्टाको अवधिमा १०८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ५८ जना प्रदेश सभा सदस्यहरूले मतदान गरिसकेको निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो । दिउँसो ३ बजेसम्म चल्ने यस मतदानमा रिक्त चार सिटका लागि जनप्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् ।

यस पटकको निर्वाचनमा मधेशको राजनीतिक मैदान निकै रोचक र बहुआयामिक देखिएको छ। रिक्त चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा भए तापनि दलहरूबीचको आन्तरिक समीकरण र गठबन्धनले नतिजालाई प्रभाव पार्ने देखिएको छ । विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीचको बलियो गठबन्धन एकातर्फ छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कुनै पनि दलसँग सहकार्य नगरी चारवटै समूहमा आफ्ना छुट्टै उम्मेदवारहरू खडा गरेको छ। जनमत पार्टीले पनि यस पटक कुनै गठबन्धन नगरी स्वतन्त्र रूपमा आफ्नो उपस्थिति जनाएको छ ।

राजनीतिक दलहरूबीचको एकता र ध्रुवीकरणले उम्मेदवारीमा समेत केही प्राविधिक फेरबदल ल्याएको छ। जसपा नेपाल र लोसपाबीचको एकीकरण र चुनावी तालमेलका कारण जसपाले आफ्ना तीन उम्मेदवारलाई निष्क्रिय पारेको छ। हाल सो समूहबाट महन्थ ठाकुर साझा उम्मेदवारका रूपमा अगाडि सारिएका छन्  ।

यसैगरी कांग्रेसले २ तथा नेकपा एमाले र लोसपाले १–१ सिटमा आफ्नो उम्मेदवारी कायम राखेका छन् । दलीय समीकरण र गठबन्धनको यो रस्साकस्सीका बीच भइरहेको मतदानले मधेशबाट राष्ट्रिय सभामा पुग्ने नयाँ चार अनुहारको फैसला गर्नेछ ।


सम्बन्धित समाचार