Logo

११ माघ, काठमाडौँ । राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आज देशभर भइरहेको निर्वाचनको अन्तिम परिणाम आजै साँझसम्म सार्वजनिक हुने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आइतबार बिहान सातै प्रदेशमा मतदान जारी रहेको जानकारी दिँदै साँझ ५ बजेभित्रै सबै क्षेत्रको एकमुष्ट नतिजा बाहिर आउने बताउनुभएको हो । रिक्त १८ सिटका लागि भइरहेको यस निर्वाचनमा कोशी प्रदेशको एउटा पदमा भने यसअघि नै निर्विरोध चयन भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएको दुई घण्टाभित्रै गणना सकेर परिणाम घोषणा गर्ने गरी तयारी मिलाइएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभयो । हालसम्म सबै प्रदेशका मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र सुरक्षा व्यवस्था समेत चुस्त पारिएको आयोगको भनाइ छ । निर्वाचनमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले आ-आफ्नो प्रदेशका तोकिएका केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन् ।

देशभरका सातवटै प्रदेशमा पायक पर्ने स्थानहरूमा मतदान केन्द्रको व्यवस्था गरिएको छ । कोशीको विराटनगर, मधेशको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान भइरहेको छ । निर्वाचन सकिएलगत्तै गणना सुरु हुने र प्राविधिक रूपमा कुनै जटिलता नआए तोकिएकै समयभित्रै राष्ट्रिय सभाले नयाँ सदस्यहरू पाउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै