११ माघ,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–२ अन्तर्गत दुधौरा पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आज बिहान करिब ७ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको मा.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक कलैया उपमहानगरपालिका–३ निवासी जय गुप्ताका २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
त्यसैगरी, स्कुटरको पछाडि सवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० घडीहर्वा निवासी बिनोद साह कानुका ३० वर्षीय छोरा मौसम कुमार साह घाइते भएका छन्। उनको दाहिने हात र ढाडमा चोट लागेको छ।
दुबै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर (बारा) लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ८ बजे आयुष गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक सालिम राउत गद्दीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय प्रसौनीबाट करिब दुई किलोमिटर पूर्वमा रहेको छ।
प्रहरीका अनुसार दुर्घटनापछि फरार रहेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकलाई कलैयाको हनुमान चोकबाट नियन्त्रणमा लिइएको छ। ट्रक चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२ चौधरी टोल निवासी २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















