Logo

११ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली मतदाताले कस्तो नेतृत्व रोज्लान्-युवाको जोस कि पाका पुस्ताको अनुभव ? यो प्रश्न यतिबेला निकै चर्चामा छ ।

यो पटकको प्रतिनिधिसभा निर्वाचनमा २५ वर्षदेखि ५० वर्ष उमेर समूहका र त्यसमाथिका वृद्धहरु पनि उम्मेृदवार छन् । विगतको तुलनामा युवा उम्मेदवारहरुको संख्या पनि बढ्दो छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिनिधिसभाका १६५ पदका लागि चुनावी मैदानमा २५ वर्षका युवादेखि ८८ वर्षका वृद्धसम्मका ३ हजार ४८७ उम्मेदवारहरू उत्रिएका छन् ।

कुल उम्मेदवारमध्ये पुरुषको संख्या ३ हजार ९० छ भने महिला ३ सय ९६ र अन्य समूहबाट एक जनाको प्रतिनिधित्व रहेको छ । ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका आकांक्षीहरू अहिले मतदाताको मन जित्न घरदैलोमा व्यस्त छन् ।

कुन उमेर समूहका कति उम्मेदवार ?

उमेरको हिसाबले विश्लेषण गर्दा यस पटकको निर्वाचनमा ५४ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या सबैभन्दा बढी देखिएको छ । सांसद बन्ने होडमा यो उमेरका मात्रै १२९ जना आकांक्षी छन् । त्यसैगरी ४२, ४४ र ४८ वर्ष उमेरका पात्रहरू पनि उल्लेख्य संख्या (प्रत्येक उमेरमा १२२ जना) रहेका छन्। रोचक पक्ष त के छ भने, २५ वर्ष पुगेर भर्खरै चुनावी राजनीतिमा होमिएका २९ जना युवाहरू छन् भने ८८ वर्षको पाको उमेरमा पनि देशको नेतृत्व गर्ने हुटहुटी बोकेका एक जना उम्मेदवार मैदानमा खडा छन् । आयोगको विवरणअनुसार ७९, ८४, ८५ र ८६ वर्ष बाहेक २५ देखि ८८ वर्षभित्रका हरेक उमेरका व्यक्तिहरूले प्रतिनिधित्व जनाएका छन् ।

तथ्याङ्कलाई समूहगत रूपमा हेर्दा मध्यम उमेर समूहकै उम्मेदवारहरूको वर्चस्व कायम देखिन्छ । ४१ देखि ५० वर्ष उमेर समूहका १ हजार ११४ जनाले उम्मेदवारी दिएका छन्, जुन कुल संख्याको सबैभन्दा ठूलो हिस्सा हो । अर्कोतर्फ, जेनजी भनिने २५ देखि २९ वर्षका २०५ जना युवाहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दिएर परम्परागत राजनीतिलाई चुनौती दिएका छन् ।

३१ देखि ४० वर्ष उमेर समूहका ८१६ जना र ५१ देखि ६० वर्षका ८५६ जना उम्मेदवारहरूले संसदीय राजनीतिमा आफ्नो दाबी पेस गरेका छन् । ८१ वर्ष कटेका ६ जना पाका उम्मेदवारहरू पनि यस पटक चुनावी प्रतिष्पर्धामा हुनुले राजनीतिक अनुभवको महत्त्वलाई दर्शाउँछ ।

मतदाताको रोजाई नयाँ की पुराना ?

समग्रमा, यस पटक उम्मेदवारहरूको औसत उमेर ४६ दशमलव ९३ वर्ष देखिएको छ । यसले नेपाली संसदीय राजनीतिमा अनुभव र सक्रिय उमेरको एउटा विशिष्ट सन्तुलन खोजिएको सङ्केत गर्छ । युवा उत्साह र पाको पुस्ताको अनुभवका बीच भइरहेको यो प्रतिस्पर्धाले आगामी फागुन २१ गते कस्तो नतिजा ल्याउला भन्नेमा सर्वत्र चासो छ ।

के मतदाताले नयाँ पुस्तालाई अवसर दिनेछन् वा पुरानै अनुहारमा विश्वास देखाउनेछन्, त्यसको फैसला भने मतपेटिकाबाटै हुनेछ।

 


सम्बन्धित समाचार
भर्खरै