११ माघ, काठमाडौं । निर्वाचनको मुखमा राजनीतिक मञ्चहरू तातिरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्रीका दाबेदारद्वय केपी शर्मा ओली र गगन थापासँग एउटै मञ्चमा बसेर ‘पब्लिक डिबेट’ गर्न अस्वीकार गरिदिएका छन् ।
एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत देशको भविष्यबारे खुल्ला बहसको प्रस्ताव गरेपछि बालेनले त्यसको प्रतिवाद मात्र गरेनन्, दुवै नेतामाथि गम्भीर र विवादास्पद आरोप समेत लगाएका छन् । ओलीको पोस्टमा टिप्पणी गर्दै बालेनले ७६ जना बालबालिकाको हत्या भएको घटनालाई स्मरण गराउँदै आफू ‘हत्यारा र मतियार’ सँग एउटै मञ्चमा नउभिने अडान लिएका हुन् ।
बालेनको यो कडा प्रतिक्रियामा प्रयोग भएका शब्दहरूले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । उनले ओलीलाई प्रत्यक्ष रूपमा ुहत्याराु को संज्ञा दिँदै विगतमा भएका हिंसात्मक घटना र आतंकवाद लुकाउन नेताहरूका घर जलाइएको दाबी गरेका छन् । ओलीविरुद्ध बालेन यसअघि पनि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए, तर यसपटक उनले तेस्रो पात्रका रूपमा बहसमा आमन्त्रित नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पनि बाँकी राखेनन् । बालेनले ‘उसको मतियार’ भन्दै गगन थापालाई समेत गम्भीर लाञ्छना लगाएका छन्, जसले गर्दा अहिलेसम्म सतहमा नदेखिएको बालेन र गगनबीचको राजनीतिक टकराव अब खुल्ला रूपमा बाहिर आएको छ ।
बालेननिकट स्रोतहरूका अनुसार गगन थापालाई ‘मतियार’ भन्नुको पछाडि त्यस समयको सत्ता समीकरण र सरकारी संयन्त्रमा उनको उपस्थितिलाई कारण मानिएको छ । घटना हुँदा गगनको पार्टी सरकारमा रहेको, गृहमन्त्री आफ्नै दलको भएको र गगन स्वयं उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेकोले उनलाई पनि घटनाको नैतिक र राजनीतिक जिम्मेवारीबाट अलग गर्न नमिल्ने बालेनको तर्क छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गगन थापालाई सभापति रवि लामिछानेको मुख्य आलोचकका रूपमा हेरिने गरिएका बेला बालेनको यो प्रहारले चुनावी राजनीतिलाई थप ध्रुवीकृत बनाइदिएको छ ।
सार्वजनिक बहसमा सहभागी भएर एजेन्डा प्रस्तुत गर्नुको साटो बालेनले उठाएको यो बहिष्कारको कदम र लगाएका आरोपहरूले अबको चुनावी प्रतिस्पर्धालाई नीतिगत बहसभन्दा पनि व्यक्तिगत गालीगलौज र पुरानो हिसाब-किताबको बाटोतर्फ धकेल्ने देखिएको छ । ओलीको प्रस्तावलाई ठाडै इन्कार गर्दै बालेनले आफ्नो अडान स्पष्ट पारेपछि अब गगन थापा र केपी शर्मा ओलीले यसको जवाफ कसरी दिन्छन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

















