११ माघ, सर्लाही । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाभरका मतदानस्थलहरूको स्थलगत निरीक्षण सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको नेतृत्वमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू निरीक्षणमा सहभागी छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका ८१ वटै मतदानस्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेसँगै सुरक्षा व्यवस्थालाई थप प्राथमिकतामा राखिएको जनाइएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार भारतसँग सिमाना जोडिएका क्षेत्रहरूमा सुरक्षा चुनौती देखिएकाले ती स्थानका मतदानस्थललाई प्राथमिकताका साथ अनुगमन गरिएको हो।
“हालसम्मको निरीक्षणमा सुरक्षा अवस्था सामान्य देखिएको छ,” उनले भने, “प्रमुख राजनीतिक दलका शीर्ष नेता उम्मेदवार भएकाले अवस्था सामान्य नै रहने अपेक्षा छ।”
जिल्लाभर रहेका कुल ३१२ मतदानस्थलमध्ये १५८ वटा अति संवेदनशील र १३१ वटा संवेदनशील सूचीमा परेका छन्।
निर्वाचन क्षेत्र नम्बर ४ राजनीतिक रूपमा पनि चासोको केन्द्र बनेको छ। कांग्रेस सभापति थापाको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।
















