Logo

११ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा आफ्नो संसदीय दलको नेतृत्व हेरफेर गर्दै नयाँ पदाधिकारीहरूको चयन गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रभावशाली नेता बेदुराम भुसाललाई सर्वसम्मत रूपमा दलको नेता नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दलको नेताको जिम्मेवारी सम्हालिरहनुभएका नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो स्थानमा भुसाललाई ल्याइएको हो ।

बैठकले दलको नेतासँगै अन्य महत्वपूर्ण जिम्मेवारीहरूको पनि बाँडफाँट गरेको छ । जसअनुसार राष्ट्रिय सभाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ । राष्ट्रिय सभामा पार्टीको भूमिकालाई थप प्रभावकारी, संगठित र सशक्त बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरिएको नेकपाले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला राष्ट्रिय सभामा अनुभवी नेता भुसालको नेतृत्वले संसदीय प्रक्रिया र दलीय समन्वयमा ठुलो मद्दत पुग्ने विश्वास पार्टी पंक्तिले लिएको छ । नवनियुक्त पदाधिकारीहरूले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै सदनमा पार्टीको एजेन्डालाई प्रखर रूपमा लैजाने प्रतिबद्धता जनाएका छन् ।


सम्बन्धित समाचार