११ माघ, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र भइरहेका बेला नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल गर्ने औपचारिक सहमति भएको छ ।
दुई दलबीच भएको ३ बुँदे सहमतिअनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउने निर्णय भएको छ । यो सहमतिसँगै रुकुमका दुवै क्षेत्रमा चुनावी समीकरण बदलिएको छ भने एमालेको समर्थनले प्रलोपाका उम्मेदवारहरूको स्थिति थप मजबुत देखिएको छ ।
सहमति पत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार प्रलोपाले पनि कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पुरानो राप्ती अञ्चलअन्तर्गतका दाङ, रोल्पा, प्यूठान र रुकुमका विभिन्न क्षेत्रमा पनि प्रलोपाले एमालेका उम्मेदवारहरूलाई सघाउने गरी कार्यगत एकताको खाका तयार पारिएको छ ।
यो तालमेलले विशेषगरी माओवादी केन्द्रबाट अलग भएका र असन्तुष्ट रहेका शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । रुकुम पश्चिममा प्रभावशाली नेता जनार्दन शर्मालाई एमालेले समर्थन गर्नुलाई यस पटकको निर्वाचनको एक महत्वपूर्ण रणनीतिक कदमका रूपमा हेरिएको छ । दुवै दलले आफ्ना तल्लो तहका कमिटीहरूलाई तत्कालै सर्कुलर जारी गरी चुनावी प्रचारप्रसारमा संयुक्त रूपमा होमिन निर्देशन समेत दिएका छन् ।
















