Logo

११ माघ, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने र निर्वाचनलाई प्रभावित पार्न खोज्ने जो(कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र हनुमानढोकास्थित पुरानो प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकनका क्रममा उहाँले यस्तो कडा निर्देशन दिनुभएको हो । गृहमन्त्री अर्यालले निर्वाचनका बेला तथ्यहीन समाचार र अमर्यादित सामग्री सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न माथिल्लो निकायको आदेश पर्खिरहनु नपर्ने स्पष्ट पार्नुभयो ।

भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयमा वस्तुस्थितिको जानकारी लिँदै गृहमन्त्रीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु नै सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले दर्ता विना सञ्चालनमा रहेका र कानुनले वर्जित गरेका सूचना प्रवाह गर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई सुक्ष्म ढङ्गले अनुगमन गर्न ब्युरोलाई सक्रिय हुन आग्रह गर्नुभयो । ‘कतिपयले सुनियोजित रूपमा भ्रम छरिरहेका हुन्छन्, त्यस्ता पोस्टको सत्यता तत्काल जाँच गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनुहोस्,’ उहाँले भन्नुभयो ।

अवलोकन टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेसहितको उपस्थिति थियो । ब्युरो प्रमुख नबिन्द अर्यालले हाल भइरहेको अनुसन्धान र प्राविधिक क्षमताका बारेमा टोलीलाई ब्रिफिङ गर्नुभएको थियो । गृहमन्त्री अर्यालले साइबर अपराध नियन्त्रणका लागि ब्युरोलाई थप प्रविधिमैत्री र शक्तिशाली बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचनको संवेदनशीलतालाई बुझेर २४ सै घण्टा उच्च सतर्कताका साथ काम गर्न सुरक्षाकर्मीहरूलाई हौसला समेत प्रदान गर्नुभयो ।


सम्बन्धित समाचार