Logo

११ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहले आइतबार जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाहरू सुनेका थिए। स्थानीयले टाँगिया बस्तीमा लामो समयदेखि देखिएका बसोबास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित समस्या समाधानको माग गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, “टाँगिया बस्तीका नागरिकले भोग्दै आएका समस्या कुनै एक व्यक्तिका मात्र होइनन्, यो राज्यको जिम्मेवारीको विषय हो। म निर्वाचित भएपछि यहाँका आधारभूत समस्याहरू समाधानका लागि संसद्मा मजबुत आवाज उठाउनेछु।”

उहाँले बारा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने स्पष्ट लक्ष्य रहेको पनि बताए। साहले रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने तथा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

“राजनीतिलाई परिणाममुखी बनाउँदै जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनु मेरो उद्देश्य हो। बारा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै उदाहरणीय क्षेत्र बनाउने सङ्कल्पका साथ म अघि बढेको छु,” उनले थपे।


सम्बन्धित समाचार