Logo

 ११ माघ, काठमाडौँ । नेपालमा पर्यटक उद्धारको नाममा ठगीमा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु नेपाल, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपिडिसनका संचालक र व्यवस्थापन कर्मचारीहरू छन्।

सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जानकारीअनुसार पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु नेपालका सञ्चालक जयराम रिमाल र व्यवस्थापन विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, तथा एभरेस्ट एक्सपिडिसनका सञ्चालक मुक्ति पाण्डे र सञ्चालक तथा प्रबन्धक सुभाष केसी रहेका छन्।

सिआइबीका अनुसार, उनीहरू विरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान अघि बढाइएको छ। छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सिआइबीले करिब साढे दुई महिना अनुसन्धान गरेको थियो।

सिआइबीका एआईजी मनोज केसीले भने, “नेपालको छवि र अन्तर्राष्ट्रिय स्तरमा पर्ने असरका कारण राष्ट्रहितविरुद्धको अपराधसमेतमा अनुसन्धान हुने छ।”

यसैगरी, ठगीमा संलग्न हुन सक्ने हेलिकोप्टर कम्पनी तथा अस्पतालमाथि पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।


सम्बन्धित समाचार