१२ माघ, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडस्थित एक व्यावसायिक गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको शंकास्पद सामान बरामद गरेको छ । विकास गोयलले सञ्चालन गरेको ‘एसबी ट्रेडिङ’ को गोदामबाट बिलबिजक नभएका र राजस्व छली गरी ल्याइएका करिब २५ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा उक्त गोदाममा आईतबार साँझ खानतलासी गरेको थियो । खानतलासीका क्रममा गोदाममा भण्डारण गरिएका बेलुन, ब्याण्डेज, तास, पेन्सिल, रबर, गुच्चा, इरेजर र लाइटर लगायतका विविध सामग्रीहरू फेला परेका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार बरामद गरिएका सामानहरू दुईवटा ट्रकमा लोड गरी जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । “गोदाममा राजस्व छलेर ल्याइएका सामान ठूलो परिमाणमा राखिएको सूचनाका आधारमा हामीले छापा मारेका हौँ,” प्रहरी निरीक्षक सुवेदीले भने, “प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेका सामानको बिलबिजक शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको हो।”
बरामद सामानको बजार मूल्य २५ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। राजस्व छली गरी अवैध रूपमा सामान भित्र्याउने र भण्डारण गर्ने कार्यविरुद्ध प्रहरीले पछिल्लो समय वीरगञ्ज क्षेत्रमा निगरानी बढाएको छ । जफत गरिएका सामानहरू थप कानुनी प्रक्रिया र राजस्व अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।
















