Logo

१२ माघ, कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिदबिक्रीको सिफारिसमा भ्रष्टाचार गरेको अभियोगमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्षसहित चार जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । घर र बाटो भएको जग्गालाई ‘बाटो नभएको र खाली जग्गा’ भनी गलत सिफारिस गरी सरकारलाई प्राप्त हुने राजस्व छली गरेको ठहर गर्दै आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरूमा कलैया-३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मन्सुर, तत्कालीन वडा सचिव रघुप्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र खरिदकर्ता हिरालाल प्रसाद रहेका छन् । अख्तियारले वडा अध्यक्ष मन्सुर र सचिव गोढी विरुद्ध जनही ६ लाख ९४ हजार ६ सय ५१ रुपैयाँ ४५ पैसा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

अनुसन्धानका क्रममा साविक भतौडा गाविस (हाल कलैया २) को कित्ता नम्बर २८८ र २९० को जग्गा बिक्री गर्दा चरम बदनियत राखिएको पाइएको छ। हुलाकी राजमार्गसँग जोडिएको र पक्की घर कम्पाउन्ड भएको उक्त जग्गालाई वडा कार्यालयले “कुनै किसिमको बाटो नभएको र घर समेत नरहेको” भनी गलत लिखत प्रमाणित गरेको थियो।

आर्थिक वर्ष २०७४/७५ को न्यूनतम मूल्याङ्कन अनुसार उक्त घरजग्गाको कुल मूल्य ९९ लाख ४८ हजार ९२१ रुपैयाँ हुनुपर्ने र त्यसबापत सरकारले ८ लाख २४ हजार ७०१ रुपैयाँ राजस्व पाउनुपर्ने देखिन्छ । तर, प्रतिवादीहरूको मिलेमतोमा जग्गाको मूल्य जम्मा ५ लाख ५० हजार मात्र कायम गरी १ लाख ३० हजार ५० रुपैयाँ मात्र राजस्व दाखिला गरेर ६ लाख ९४ हजार ६५१ रुपैयाँ राजस्व हिनामिना गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

अख्तियारले जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई मुख्य कसुरदारको मतियार बनेको भन्दै ३ लाख ७७ हजार रुपैयाँ र खरिदकर्ता हिरालाल प्रसादलाई ३ लाख १७ हजार ६५१ रुपैयाँ ४० पैसा बिगो कायम गरी सजाय माग गरेको छ ।

नापी कार्यालयको फिल्ड प्रतिवेदन र कलैया उपमहानगरपालिकाको पत्राचारले समेत उक्त जग्गामा भौतिक संरचना र पिच बाटो रहेको पुष्टि गरेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा आकर्षित गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो ।


सम्बन्धित समाचार