Logo

१२ माघ, वीरगञ्ज । ‘अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद विकासमा सरोकारवालाको भूमिका’ विषयक एक अन्तरक्रियात्मक कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । नेत्रहीन क्रिकेट संघ नेपाल र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा वीरगञ्जस्थित होटल गेटवेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षेत्रमा देखिएका चुनौती, अवसर र स्थानीय तहको भूमिकाका बारेमा गहन छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानुले अपाङ्गता भएका खेलाडीहरूको प्रोत्साहनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले अपाङ्गता भएका व्यक्तिहरूका लागि अवसर र पहुँचको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । उनले भने, “अपाङ्गता कमजोरी होइन, यो एउटा फरक क्षमता हो । यदि सही सहयोग, खेल पूर्वाधार र प्रोत्साहनमूलक नीति हुने हो भने अपाङ्गता भएका खेलाडीहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत देशको नाम चम्काउन सक्छन्।” यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा प्रयास आवश्यक रहेको उनको तर्क थियो ।

मधेस प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह कानुले सञ्चालन गर्नुभएको सो कार्यक्रममा समाजसेवी रूप शिला जैसवाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । सहभागीहरूले अपाङ्गता मैत्री खेल मैदानको अभाव र सीमित बजेटका कारण प्रतिभाशाली खेलाडीहरू ओझेलमा परेको भन्दै नीतिगत सुधारको माग गरेका थिए । यस कार्यक्रमले आगामी दिनमा अपाङ्गता खेलकुदको विकासका लागि सरोकारवालाहरूबीच बलियो सहकार्य र प्रतिबद्धता निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार