Logo

१२ माघ, काठमाडौँ । शक्तिशाली हिमआँधीका कारण संयुक्त राज्य अमेरिकाको जनजीवन पूर्णतः अस्तव्यस्त बनेको छ । टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो भीषण आँधीका कारण अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय मौसम सेवाले आगामी केही दिनसम्मको मौसम “जीवनकै लागि घातक” हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

आँधीका कारण १० लाखभन्दा बढी घर र व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ । यसपटकको आँधीमा हिउँभन्दा बढी बरफ जम्ने समस्या देखिएकाले रूखहरू ढल्ने र विद्युत्का तारहरू चुँडिने क्रम बढ्दा विद्युत सेवा ठप्प भएको हो । अमेरिकाको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब १८ करोड मानिस यस प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

आँधीका कारण यातायात क्षेत्रमा व्यापक असर परेको छ। देशभर अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भइसकेका छन्। सडकहरूमा हिउँ र बरफको बाक्लो तह जमेका कारण भर्जिनिया राज्यमा मात्रै दुई सयभन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट गरिएका छन्। केन्टकीका गभर्नर एन्डी बेशियरले सडकहरू अत्यन्तै खतरनाक भएको र यो अवस्था अर्को सातासम्म जारी रहने बताए ।

चिसोको चरम संकटका कारण झण्डै आधा राज्यहरूमा संकटकाल घोषणा गरिएको छ । विद्यालय र सरकारी कार्यालयहरू बन्द छन् भने अमेरिकी सिनेटको सोमबारका लागि तय गरिएको मतदान समेत रद्द गरिएको छ । वासिङ्टन डिसीकी मेयर मुरियल बाउजरले यसलाई पछिल्लो एक दशककै ठूलो हिमआँधीका रूपमा चित्रण गर्नुभएको छ ।

सामान्यतया न्यानो रहने टेक्सस, लुजियाना र टेनेसी जस्ता राज्यहरूमा तापक्रम औसतभन्दा १५ देखि २० डिग्री सेल्सियस तल झरेको छ, जसले त्यहाँका बासिन्दालाई थप समस्यामा पारेको छ। मौसमविद्हरूका अनुसार ‘पोलर भोर्टेक्स’ (आर्क्टिक क्षेत्रको चिसो हावा) दक्षिणतिर मोडिएका कारण यो शक्तिशाली आँधी आएको हो ।

विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण समुद्रको तापक्रममा आएको उतारचढावले पोलर भोर्टेक्सको व्यवहारमा प्रभाव पारेको र यस्ता चरम मौसमी घटनाहरू दोहोरिने गरेको बताएका छन् । यो चिसोको लहर फेब्रुअरीको सुरुसम्मै कायम रहने पूर्वानुमान गरिएको छ ।


सम्बन्धित समाचार