Logo

१२ माघ, चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ‘ब्लक’ बनाएर गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाको दोस्रो भागको प्राविधिक काम सम्पन्न भएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो चरणको गणना सकिएसँगै जडान गरिएका ‘क्यामेरा ट्र्याप’हरू निकाल्ने कार्य सुरु गरिएको छ।

यस चरणअन्तर्गत सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, बोटे सिमारा, सोमेश्वर, बगही र अम्बुवा हुँदै सिकारी बाससम्मको वन क्षेत्र समेटिएको थियो। गणनाका लागि १३ वटा विभिन्न क्याम्प खडा गरी तालिमप्राप्त १५० जना गणकहरू परिचालन गरिएको छ। निकुञ्जले चितवन-पर्सा ब्लकलाई कुल ९ सय ५८ वटा ग्रिडमा विभाजन गरेर वैज्ञानिक पद्धतिबाट गणना गरिरहेको छ।

बाघ पाइने देशका अन्य निकुञ्जहरू बाँके, बर्दिया र शुक्लाफाँटामा पनि एकैसाथ गणना कार्य भइरहेको छ। करिब तीन महिना चल्ने यस प्रक्रियापछि सङ्कलित तस्बिरहरूको प्राविधिक विश्लेषण गरी नतिजा सार्वजनिक गरिने सूचना अधिकारी मगरले जानकारी दिए । नेपालले हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गर्दै आएको छ।

यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ३ सय ५५ पुगेको थियो। सो तथ्याङ्क अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा वयस्क बाघ फेला परेका थिए। संरक्षणका क्षेत्रमा विश्वमै नमुना मानिएको नेपालको यसपटकको गणनाले बाघको सङ्ख्यामा थप वृद्धिको अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार