Logo

१२ माघ, काठमाडौं । नेपाल र साउदी अरबबीच श्रमिकहरूको हकहित र सुरक्षालाई केन्द्रमा राख्दै ऐतिहासिक द्विपक्षीय श्रम सम्झौता सम्पन्न भएको छ ।

साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी सरकारका मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । २०७० सालदेखि थालिएको निरन्तर प्रयास र एक दशकभन्दा लामो प्रतीक्षापछि मात्र यो सम्झौताले पूर्णता पाएको हो, जसले अब साउदीमा कार्यरत तथा भविष्यमा जाने साधारण नेपाली श्रमिकहरूको रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विश्वास गरिएको छ ।

यस सम्झौताले विशेषगरी नेपाली श्रमिकहरूको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत(प्रभावी बनाउन महत्त्वपूर्ण कानुनी आधार तयार पारेको छ। सम्झौतामा श्रमिकहरूको सेवा–सुविधा, कामको उचित वातावरण, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र गुनासो व्यवस्थापन जस्ता गम्भीर विषयहरूलाई उच्च प्राथमिकताका साथ समेटिएको छ ।

अन्तर्राष्ट्रिय श्रम मापदण्ड र दुवै देशको प्रचलित कानुनलाई आधार मानी गरिएको यो सहमतिले साउदीमा नेपाली श्रमिकहरूले भोग्दै आएका तलब नपाउने, करारपत्र फेरबदल हुने र स्वास्थ्य उपचारमा हुने लापरवाही जस्ता समस्याहरूलाई उल्लेख्य रूपमा न्यून गर्ने अपेक्षा लिइएको छ ।

सम्झौता हुनुअघि दुवै देशका मन्त्रीहरूबीच भएको द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले यस कदमले नेपाल र साउदी अरबबीचको कूटनीतिक तथा श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने धारणा राख्नुभएको थियो । गत भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिए पनि राजनीतिक फेरबदलका कारण केही समय रोकिएको यो प्रक्रियाले अन्ततः मूर्तरूप पाउँदा वैदेशिक रोजगारीको ठूलो गन्तव्य रहेको साउदीमा नेपाली श्रमको सम्मान हुने देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार वार्षिक डेढ लाखको हाराहारीमा नेपालीहरू साउदी जाने गरेको सन्दर्भमा यो सम्झौताले उनीहरूको रोजगारी र सुरक्षालाई थप सुनिश्चित गर्ने रियादस्थित नेपाली दूतावासको ठहर छ ।


सम्बन्धित समाचार