Logo

१२ माघ, काठमाडौं । नेपालमा बसेर भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा अध्यागमन विभागले एक चिनियाँ र एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

विभागले सोमबार विशेष सूचनाका आधारमा चिनियाँ नागरिकलाई चाबहिल र अमेरिकी नागरिकलाई ललितपुरको ठैवबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालको अध्यागमन कानुन उल्लंघन गर्दै शङ्कास्पद कार्य गरिरहेको फेला परेको विभागका निर्देशक टीकाराम ढकालले पुष्टि गर्नुभएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक सन् २०१२ देखि नै नेपालमा आउनेजाने गरेको र विभिन्न ६ वटा कम्पनी स्थापना गरी व्यावसायिक भिसा लिए पनि अवैध रूपमा विद्यालयहरूमा अध्यापन गराउँदै आएको पाइएको छ । त्यसैगरी, सन् २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका अमेरिकी नागरिकले सन् २०२० पछि सिन्धुपाल्चोकमा कम्पनी दर्ता गरी ललितपुरमा बालगृह सञ्चालन गरेको भेटिएको छ । उनले बालगृहका बालबालिकालाई प्रयोग गरी क्रिस्चियन धर्म प्रचार गर्ने गरेको गम्भीर आरोप लागेको छ ।

पर्यटक र व्यावसायिक भिसामा रहेका विदेशी नागरिकले अन्य कुनै पनि प्रकारको काम वा धर्म प्रचार गर्न नपाउने कानुनी व्यवस्थाको बर्खिलाप गरेको पाइएपछि दुवै जनालाई हिरासतमा राखी थप छानबिन भइरहेको विभागले जनाएको छ।


सम्बन्धित समाचार