Logo

१२ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्यले एउटा अभूतपूर्व र ऐतिहासिक मोड लिएको छ ।

सोमबार सुनको भाउले पहिलो पटक प्रतिऔंस ५ हजार डलरको सीमा पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो । सन् २०२५ मा ६० प्रतिशतको बढोत्तरी देखिएको सुनको मूल्यमा यो वर्ष पनि सोही रफ्तार कायम रहँदा विश्व वित्तीय बजारमा तरङ्ग पैदा भएको छ । विशेषगरी ग्रीनल्याण्डको मुद्दालाई लिएर अमेरिका र नेटो बीच बढ्दो तनावका साथै भू–राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरूले सुरक्षित विकल्पका रूपमा सुनलाई रोज्दा मूल्यमा यो उछाल आएको विश्लेषण गरिएको छ ।

विश्व अर्थतन्त्रको यो बदलिँदो स्वरूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा व्यापार नीतिले पनि उत्तिकै प्रभाव पारेको देखिन्छ । क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको पछिल्लो चेतावनीले बजारमा थप संशय पैदा गरिदिएको छ । उच्च मुद्रास्फीति, कमजोर बन्दै गएको डलर र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाउने होडबाजीले गर्दा यो धातुको माग र मूल्य दुवै अकासिएको हो । यसबाहेक युक्रेन र गाजाको जारी युद्ध तथा भेनेजुएलाको राजनीतिक तनावले समेत सुनको बजारलाई थप बल पुर्‍याएको छ ।

सुनको यो ऐतिहासिक वृद्धिसँगै चाँदीको बजारमा पनि नयाँ उत्साह देखिएको छ। शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । गत वर्ष मात्र १५० प्रतिशतले महँगो भएको चाँदीले पनि लगानीकर्ताहरूलाई सुरक्षित आश्रय प्रदान गरिरहेको छ ।

विश्वभरका वित्तीय तथा राजनीतिक संकटका बेला सेयर बजार र डलरभन्दा धातुमा लगानी गर्नु सुरक्षित मानिने भएकाले वर्तमानको अस्थिर वातावरणले सुन र चाँदीको मूल्यलाई अझै उचाइमा पुर्‍याउन सक्ने संकेत अर्थविद्हरूले गरेका छन् ।


सम्बन्धित समाचार