Logo

फाईल फोटो

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका क्रममा राष्ट्रिय झन्डाको प्रयोगलाई मर्यादित र सम्मानजनक बनाउन मातहतका सबै पार्टी संरचनालाई पाँच बुँदे विशेष परिपत्र जारी गरेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेश ७७ जिल्ला र सबै निर्वाचन क्षेत्रलाई पत्र पठाउँदै निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको प्रयोग गर्दा विशेष सावधानी अपनाउन निर्देशन दिनुभएको हो । निर्वाचन आचारसंहिताको पालना गर्दै प्रचार अभियानमा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्न पार्टी पङ्क्तिलाई सचेत गराइएको छ ।

परिपत्रमा राष्ट्रिय झन्डाको गरिमा र राष्ट्रिय गौरवलाई मध्यनजर गर्दै यसलाई कुनै पनि व्यक्तिको शरीरमा ओढाउने वा ज्याकेट र मफलरका रूपमा प्रयोग नगर्न कडाइका साथ भनिएको छ । उपसभापति शर्माले झन्डा ओढाउने कार्य केवल मृत्युको शोकमा मात्र गरिने संस्कार रहेको स्मरण गराउँदै उम्मेदवार वा प्रचारकले पाखुरा, कम्मर वा घाँटीमा झन्डा बेरेर हिँड्नु राष्ट्रिय झन्डाको अपमान हुने उल्लेख गर्नुभएको छ । राष्ट्रिय झन्डालाई सधैँ व्यक्तिको शिरभन्दा माथि रहने गरी सम्मानपूर्वक फहराउन र यसको गलत प्रयोगलाई पूर्ण रूपमा निषेध गर्न कांग्रेसले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।

यसैगरी, चुनावी कार्यक्रम स्थल, प्रचार कार्यालय तथा प्रयोग गरिने सवारी साधनहरूमा राष्ट्रिय झन्डा राख्दा त्यसको स्थान सधैँ पार्टीको झन्डाभन्दा माथि हुनुपर्ने व्यवस्थालाई अनिवार्य पालना गर्न भनिएको छ । राष्ट्रिय झन्डाको सम्मान र आचारसंहिताको पालना दुवै दृष्टिले झन्डालाई व्यक्तिको शरीरमा बेर्ने वा ज्याकेट जस्तो बनाएर लगाउने कार्य संस्कार विपरीत हुने भएकाले यस्ता गतिविधि नगर्न र गर्न नदिन परिपत्रमा निर्देशन दिइएको छ । यस कदमले निर्वाचनको समयमा राष्ट्रिय प्रतीकको उचित सम्मान कायम राख्दै सभ्य चुनावी प्रतिस्पर्धाको सन्देश दिने कांग्रेसको विश्वास छ ।


सम्बन्धित समाचार
भर्खरै