Logo

१२ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा स्थानीय युवाहरूसँग भेटघाट गरेका छन्।

भेटघाट कार्यक्रममा विभिन्न पृष्ठभूमिबाट आएका युवाहरू स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै चुनावी अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाहरू नै देश परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गरे। उनले पुरानो राजनीति र निराशाबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिएको भन्दै यसलाई परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरे। “हामी युवासँगै नयाँ राजनीतिक संस्कार स्थापित गर्नेछौँ,” उनले भने। साथै, जिल्लाभर युवाहरूको समर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै परिवर्तन रास्वपाबाटै सम्भव हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी स्थानीय युवा विकास कुशवाहले यसअघि धेरै नेताहरू देखिए पनि अपेक्षित काम नदेखिएको अनुभव सुनाए। “हामीले धेरै नेताहरू देख्यौँ, तर काम देखेनौँ। अब युवाले नेतृत्व खोजेको हो, र त्यो विकल्प रास्वपामा देखेका छौँ,” उनले भने। सफा राजनीति र जवाफदेही नेतृत्वका लागि वीरगञ्ज–२४ का अधिकांश युवाहरूले घण्टी छापमा मतदान गर्ने निर्णय गरेको पनि उनले बताए।

भेटघाटको अन्त्यमा उम्मेदवार कानुले कार्यक्रममा सहभागी सबै युवाहरूलाई पार्टीमा स्वागत गर्दै एकजुट भएर परिवर्तनका लागि अघि बढ्न आह्वान गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै