१२ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने चेतावनी दिएको छ ।
सोमबार मुलुकका अधिकांश भागमा मौसम सामान्यतया सफा रहे पनि मंगलबारदेखि पश्चिमी वायुको नयाँ प्रणाली प्रवेश गर्ने भएकाले त्यसको प्रभावले वर्षा र हिमपातको शृङ्खला सुरु हुने देखिएको हो । सोमबार रातिदेखि नै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपात वा वर्षाको प्रारम्भिक संकेत देखिने महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसोबाट पश्चिमी वायुको प्रभाव अझ सशक्त बन्दै जाँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको दायरा बढ्नेछ भने पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । मंगलबार राति यो प्रणाली थप सक्रिय भई लुम्बिनीसहितका क्षेत्रमा मध्यम वर्षा र हिमपात गराउने देखिएको छ । तराईका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र लुम्बिनीका कतिपय ठाउँमा चट्याङ पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
बुधबार भने यो मौसम प्रणाली देशभर फैलिएर पूर्ण रूपमा सक्रिय हुने प्रक्षेपण गरिएको छ । उक्त दिन देशभर साधारणतया बदली भई सबै उच्च पहाडी तथा हिमाली भेगका धेरैजसो स्थानमा मध्यम हिमपात हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । बुधबार रातिबाट मात्र यो प्रणाली कमजोर हुँदै जाने र कोशी तथा बागमतीका केही हिमाली भेगमा फाट्टफुट्ट हिमपातबाहेक अन्यत्र मौसममा क्रमिक सुधार आउने महाशाखाले उल्लेख गरेको छ ।
















