Logo

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई केवल औपचारिक घेरामा मात्र सीमित नराखी भावनात्मक रूपमा प्रगाढ बनाउन आफू सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेको स्पष्ट पार्नुभएको छ ।

उम्मेदवारी दर्ताको ६ दिनपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका थापाले एक भिडियो सन्देश जारी गर्दै मधेशको प्रतिनिधित्व गर्नु भनेको प्रकारान्तरले नेपालका समग्र समस्या समाधानको बाटो पहिल्याउनु रहेको बताउनुभयो । पहाडबाट झरेको परिवार र काठमाडौंको हुकाई भए पनि मधेशको माटो र त्यहाँका मुद्दालाई नजिकबाट बुझ्ने इच्छाशक्तिले आफूलाई यो क्षेत्रसम्म डोर्‍याएको उहाँको भनाइ छ । थापाले आफू मधेशका पीडा र आवाजलाई काठमाडौंको सत्तासम्म पुर्‍याउन र काठमाडौंका भावनालाई मधेशसँग जोड्न एउटा बलियो सेतु बन्न चाहेको उल्लेख गर्नुभयो ।

विगत तीन कार्यकालसम्म आफूलाई निरन्तर निर्वाचित गराएर माया दिने काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै सभापति थापाले त्यहाँका जनतासँगको सम्बन्ध एउटा परिवारको जस्तै रहेको स्मरण गर्नुभयो । पार्टी सभापति निर्वाचित भएपछि निर्वाचन क्षेत्र परिवर्तन नगर्न धेरै शुभचिन्तकहरूबाट सुझाव आए पनि राष्ट्रिय एकता र मधेशसँगको सामिप्यताका लागि आफूले यो साहसिक निर्णय लिएको उहाँले बताउनुभयो । आफ्नो जीवनका महत्त्वपूर्ण चरणहरू काठमाडौँमै बितेको भए तापनि अहिलेको आवश्यकता सबै भूगोल र समुदायबीचको भावनात्मक एकता रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

राजनीतिमा उत्तेजना र लोकप्रियतावादभन्दा पनि संयमता र परिणाममा विश्वास गर्ने बताउँदै थापाले अधिकार सुनिश्चित नभई वास्तविक एकता सम्भव नहुने टिप्पणी गर्नुभयो । उहाँले आफू सधैँ एकता र अधिकारको पक्षमा उभिने प्रतिबद्धता जनाउँदै मधेशको विकास र मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन सर्लाही–४ बाट आफ्नो यात्रा सुरु भएको बताउनुभयो । उत्तेजनाको राजनीतिले समाजलाई विभाजन गर्ने हुँदा सबैलाई जोड्ने र बुझ्ने राजनीति नै आजको आवश्यकता भएकोमा उहाँले जोड दिनुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै