१२ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ।
“आपन बुथ सब से मजबुत” अभियान अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम जनमत पार्टी पर्साको आयोजनामा सम्पन्न भएको थियो।
अभिमुखीकरणमार्फत बुथस्तरको संगठनलाई थप मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीति तय गरिएको पार्टीले जनाएको छ। पार्टीका अनुसार निर्वाचन जित्न बुथस्तरको संगठन नै सबैभन्दा महत्वपूर्ण आधार हो।
उक्त अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्। उनले बुथस्तर नै निर्वाचन जितको आधार भएको उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध र सक्रिय बनाएर चुनावी मैदानमा उत्रिन कार्यकर्ताहरूलाई आग्रह गरे।
जनमत पार्टीले आगामी दिनमा घरदैलो अभियान, जनसम्पर्क कार्यक्रम तथा विभिन्न चुनावी गतिविधिहरूलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ। पार्टीले २१ फागुनको निर्वाचनलाई निर्णायक रूपमा लिएको बताएको छ।
















