Logo

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीकृत परीक्षा प्रणालीका कारण देशभरका लाखौँ विद्यार्थीले सास्ती भोग्नुपरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।

परीक्षासम्बन्धी सामान्य कामका लागि पनि दुर्गम गाउँदेखि काठमाडौँको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पपनिका) धाउनुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गर्न माग गर्दै विद्यार्थीहरूले सोमबारदेखि धर्ना सुरु गरेका छन् । स्ववियु सभापति दीपकराज जोशीको नेतृत्वमा विद्यार्थीहरूले पपनिकाको प्रवेशद्वारमा धर्ना दिँदै विश्वविद्यालयको प्रशासनिक र परीक्षा प्रणालीलाई तत्काल विकेन्द्रित गर्न दबाब दिएका हुन् । खासगरी मौका परीक्षा, प्रमाणपत्र वितरण र शोधपत्र मूल्याङ्कन जस्ता कार्यका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यताले शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा कमजोर विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेको विद्यार्थी नेताहरूको गुनासो छ ।

आधुनिक प्रविधिको युगमा पनि त्रिभुवन विश्वविद्यालयले आफूलाई डिजिटल बनाउन नसक्दा विद्यार्थीहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ । स्ववियु सदस्य प्रदीप कार्कीका अनुसार विश्वविद्यालयलाई पटक–पटक एप सञ्चालन गर्न र डिजिटल प्रणाली अपनाउन आग्रह गरे पनि नेतृत्वले चासो देखाएको छैन । नतिजा प्रकाशनमा हुने ढिलाइ र त्रुटीपूर्ण नतिजा सुधार्नका लागि महिनौँ कुर्नुपर्ने अवस्थाले विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उनीहरूको तर्क छ । प्रत्येक प्रदेशमा मौका परीक्षा केन्द्र स्थापना गर्ने, शोधपत्रको मूल्याङ्कन र प्रमाणपत्र वितरण प्रदेश तहबाटै गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।

विद्यार्थीहरूले विश्वविद्यालयसमक्ष परीक्षा प्रणालीको पूर्ण पुनःसंरचनासहितको सात बुँदे माग अघि सारेका छन् । जसमा समयमै परीक्षा सञ्चालन र नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणालीको कार्यान्वयन, पुनः योग र पुनःपरीक्षण प्रक्रियाको सुदृढीकरण जस्ता विषय समेटिएका छन् । ‘राज्य संघीयतामा गए पनि त्रिविको संरचना अझै केन्द्रीकृत हुनु दुःखद हो,’ सभापति जोशीले भन्नुभयो । विद्यार्थीको यो आन्दोलनले वर्षौँदेखि बल्खुको चक्कर लगाउन बाध्य हजारौँ विद्यार्थीहरूको साझा पीडालाई प्रतिनिधित्व गरेको छ ।


सम्बन्धित समाचार