Logo

१२ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्। अभियानको सुरुवात विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै गरिएको हो।

साह सफल उद्यमी र व्यवसायीका रूपमा परिचित छन्। उनले देशकै अग्रणी डिजिटल वालेट एप ‘खल्ती’ सञ्चालन गर्दै हजारौँ युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। यसपटक बाराको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका साहले रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

अभियानको सुरुवातमा साहसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाह पनि सहभागी थिए। मन्दिर दर्शनपछि स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्दै कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताउन आग्रह गरे। उनले बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न चुनौतीका बाबजुद काठमाडौँमा आमूल परिवर्तन ल्याएको उदाहरण दिँदै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ।”

उम्मेदवार अरविन्द साहले बाराको समृद्धिका लागि आफ्नो उम्मेदवारीलाई जोड दिएका छन्। उनले भने, “इतिहासमा बारा जिल्लाको नाम सुवर्ण अक्षरमा लेखिएको थियो, तर वर्तमानमा यो धुमिल हुँदै गएको छ।”

साहले विश्वप्रसिद्ध महागढीमाई मन्दिर क्षेत्रको विकासमा अहिलेसम्म कुनै ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै भने, “मन्दिरको प्रचार–प्रसार, प्रवर्द्धन, संरक्षण र यसलाई पर्यटकीय हबका रूपमा विकास गरेर जिल्लाको आर्थिक उन्नतिमा योगदान दिन सकिन्छ।”

रास्वपाले बाराको समग्र विकास, रोजगारी सृजना र सामाजिक परिवर्तनलाई आफ्नो चुनावी एजेन्डा बनाएर आगामी फागुन २१ को निर्वाचनमा मतदातासँग प्रत्यक्ष संवाद बढाउने तयारी गरेको छ।


सम्बन्धित समाचार