१२ माघ, काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै उजुरी परेको हो।
धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको जनाएको छ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ। तर उम्मेदवार साम्पाङले उक्त कानुनी प्रावधानको उल्लंघन गरेको आरोप लगाइएको छ।
बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न तथा आचारसंहिता उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
यस सम्बन्धमा निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको जानकारी दिए। समितिले उजुरीको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
कानुन अनुसार बालबालिकाको राजनीतिक प्रयोजनमा प्रयोग भएको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी दर्ता नै खारेज हुन सक्ने व्यवस्था रहेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
















