१२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट खस्दा बाँकेको नेपालगञ्जमा ६ जना युवा घाइते भएका छन्।
घटना सोमबार नेपालगञ्जमा भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएका हुन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको डिएसपी पातलीले जानकारी दिए।
डिएसपी पातलीका अनुसार गाडीको पछाडि धेरै युवाहरू बसेका थिए। “एकले अर्कालाई समातेर बसेका उनीहरू गाडी अगाडि बढ्ने क्रममा सन्तुलन गुमाएर लड्न पुगे,” उनले भने।
रास्वपा वरिष्ठ नेता बालेन शाह सोमबार नेपालगञ्ज विमानस्थल पुगेका बेला ठूलो भिड लागेको थियो। उनी नेपालगञ्जबाट बर्दियातर्फ प्रस्थान गरेका छन् भने त्यसपछि सुदूरपश्चिमतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।
















