Logo

१२ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ। समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको छ। “प्रत्यक्षतर्फका दुई करोड तीन लाख २३ हजार मतपत्रको छपाइ आजबाट सुरु भएको छ,” उनले भने, “यो प्रक्रिया करिब १५ दिनभित्र सम्पन्न हुनेछ।”

निर्वाचन आयोगका अनुसार आगामी फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने लक्ष्यसहित छपाइ तथा ढुवानीको काम भइरहेको छ।

निर्वाचन आयोगले तोकिएको समयभित्र मतपत्र छपाइ र वितरण सम्पन्न गरेर निर्वाचन प्रक्रिया सहज र प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार